28Nov

प्रेस विज्ञप्ति

धादिङ । रोटरी क्लब अफ भादगाउँले धुनिबेशी नगरपालिका–१, धुनिवेशी क्षेत्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर मंसिर १२ गते शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।

महाकाली किसान माध्यमिक विद्यालय परिसरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा करिब ३०० भन्दा बढी सर्वसाधारणले सेवा प्राप्त गरेका छन्। शिविरमा जनरल मेडिसिन, स्त्रीरोग तथा प्रसूति, बालरोग, नाक–कान–घाँटी, हड्डी तथा नसा रोग, नेत्र सेवा, दन्त सेवा, ECG, भिडियो एक्स–रे तथा विभिन्न ल्याब परीक्षणलगायत ११ शीर्षकअन्तर्गत विस्तृत स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

धुनिबेशी नगरपालिका–१ वडा कार्यालयको सहकार्य तथा स्थानीय समुदायको सक्रिय सहभागिताबाट शिविर प्रभावकारी रूपमा सम्पन्न भएको रोटरी क्लब अफ भादगाउँले जनाएको छ। समुदायमा स्वास्थ्य पहुँच अभिवृद्धि गर्दै आवश्यक परामर्श तथा उपचार उपलब्ध गराउनु क्लबको निरन्तर प्रतिबद्धता रहेको क्लबले जनाएको छ।

यस स्वास्थ्य शिविरलाई सफल बनाउन सहकार्य, सहयोग र सहभागिता जनाउने सम्पूर्ण स्थानीय निकाय, स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूलाई क्लब परिवारले हार्दिक धन्यवाद प्रकट गरेको छ।

रोटरी क्लब अफ भादगाउँ
भक्तपुर