प्रेस विज्ञप्ति
रोटरी क्लब अफ भादगाउँद्वारा वृक्षारोपण, भोजन सेवा तथा आर्थिक सहयोग कार्यक्रम सम्पन्न
भक्तपुर, १६ साउन २०८३
रोटरी क्लब अफ भादगाउँ, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६–२७ को सेवा अभियानलाई निरन्तरता दिँदै लप्सीफेदीस्थित मैत्री आश्रम मा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत आश्रममा आश्रित ४० जना ज्येष्ठ नागरिक (आमा–बुबा) लाई पौष्टिक भोजन गराइएको थियो। साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आश्रम परिसरमा १५० वटा बिरुवा रोपण गरिएको छ।
यसै अवसरमा आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै रु. ३६,२५० (छत्तीस हजार दुई सय पचास रुपैयाँ) नगद सहयोग पनि हस्तान्तरण गरिएको थियो।
क्लबका अध्यक्ष रोटेरियन बाबुराम खड्का ले रोटरीको मूल भावना "Service Above Self" लाई आत्मसात गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता सेवा गतिविधिहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।
क्लबकी सचिव रोटेरियन सृजना महर्जन ले कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
रोटरी क्लब अफ भादगाउँले समाजसेवा, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै "Create Lasting Impact" भन्ने रोटरी वर्ष २०२६–२७ को मूल नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेको छ।
रोटरी क्लब अफ भादगाउँ
Rotary International District 3292
Rota Year 2026–27


