14Jun

बेइजिङ — नेपाल-चीन दौत्य सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ एवम् चिनियाँ सांस्कृतिक सम्पदा दिवसको उपलक्ष्यमा बेइजिङस्थित अरनिकोकृत श्वेत चैत्य परिसरमा शनिबारदेखि सांस्कृतिक सप्ताह सुरू भएको छ ।

बेइजिङस्थित नेपाली राजदूत कृष्णप्रसाद ओली, बेइजिङ नगर सम्पदा विभाग, क्यापिटल सङ्ग्रहालय र श्वेत चैत्य व्यवस्थापन कार्यालयका पदाधिकारीहरु लगायतले संयुक्त रुपमा सांस्कृतिक सप्ताहको सुरूवात गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि नेपाली राजदूत ओलीले सांस्कृतिक प्रदर्शन र आदानप्रदानले नेपाल चीन साझा सांस्कृतिक सम्पदाहरूलाई अझ समृद्ध बनाउने विश्वास प्रकट गरे । उनले भने, ‘यसले हाम्रो पारस्परिक समझदारी र सद्भावनालाई बढावा दिनेछ र युवा पुस्ताहरूमा मित्रतालाई अगाडि बढाउनेछ ।’

नेपाल र चीनबीचको पुरानो सामाजिक-सांस्कृतिक र जनस्तरीय सम्बन्धलाई सम्बोधन गर्ने ऐतिहासिक स्मारकहरूमध्ये १३औं शताब्दीमा नेपाली वास्तुकार अरनिकोले बनाएको श्वेत चैत्य र शान्सी प्रान्तको माउन्ट वुथाईमा रहेको चैत्य युगौंदेखि दुई देशबीचको आत्मीयताको गाथा भएको राजदूत ओलीले बताए ।

नेपाल र चीन बीचको मित्रता शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेको भन्दै राजदूत ओलीले नेपाल सधैं एक-चीन नीतिमा प्रतिबद्ध रहेको सुनाए ।

पाँचौं शताब्दीमा चिनियाँ भिक्षुहरू फा सियान र सुआन चाङले हिमालय पार गरेको र नेपाली विद्वान बुद्धभद्रले चीन यात्रा गरेको स्मरण गर्दै उनले राजकुमारी भृकुटीको तिब्बत साइनो चीन नेपाल जोड्ने अर्को अध्याय भएको चर्चा गरे ।

ऐतिहासिक सांस्कृतिक अन्तरक्रियाहरूमा आधारित भएर कनेक्टिभिटी, पर्यटन, शैक्षिक आदानप्रदानका क्षेत्रहरू विस्तृत भएको बताउँदै ओलीले भने, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभमा नेपालको समर्थनले हाम्रो सम्बन्धलाई अझ सुदृढ बनाएको छ । चीनले नेपाललाई एक विश्वसनीय मित्र र लामो समयदेखिको विकास साझेदारको सहयोग गरेको छ ।’

काठमाडौंबाट भिडियो सन्देश जारी गर्दै चिनियाँ राजदूत छन सुङले सन् २०२५ मा चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ हुनुका साथै आपसी सम्बन्ध मजबुत रहेको चर्चा गरे । दुई सभ्यताहरूबीचको आदानप्रदान र पारस्परिक सिकाइलाई प्रवर्द्धन गर्न, जनता-जनताबीचको आदानप्रदानलाई विस्तार गर्न र हिमालयपारिको चीन-नेपाल मित्रतालाई नयाँ उचाइमा पुर्‍याउन यस्ताखालका कार्यक्रम विशेष उपयोगी हुने पनि उनको धारणा थियो ।

कार्यक्रममा नेपाली दूतावासकी मिनिस्टिर रोशन खनाल, प्रथम सचिव मनहरी दंगाल लगायत पदाधिकारीहरू, काम वा अध्ययनका सिलसिलामा यहाँ रहेका नेपालीहरू तथा बेइजिङ नगरपालिकाका सम्पदा संस्कृति हेर्ने निकायका जिम्मेवार व्यक्तिहरू, कार्यक्रममा भाग लिन आएको रोटरी क्लब अफ भादगाउँका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

नेपाली दूतावासकी कन्सुलर सबिता नकर्मीले नेपालमा पर्यटन अवसर विषयक प्रस्तुति दिएकी थिइन् । चीन नेपालमा पर्यटक पठाउने दोस्रो ठूलो मुलुक भएको चर्चा गर्दै नकर्मीले नेपालको साहसिक, आध्यात्मिक तथा जैविक विविधतायुक्त पर्यटनले चिनियाँहरूको मन जित्नेमा दुई मत नरहेको बताइन् ।

चीनमा जुन महिनामा सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवस मनाउने गरिन्छ । यसै सन्दर्भमा चीनका विभिन्न स्थलहरूले भव्य सांस्कृतिक गतिविधिहरूको आयोजना गर्छन् । बेइजिङ महानगरको सम्पदा ब्यूरोका साथै क्यापिटल सङ्ग्रहालय र श्वेतचैत्य व्यवस्थापन कार्यालय लगायतको सहकार्यमा सन् २०२५ बेइजिङ ह्वाइट प्यागोडा कल्चरल विक' कार्यक्रमको श्रृंखला जुन १४ देखि जुन २० सम्म बेइजिङ ह्वाइट प्यागोडा टेम्पलमा जारी रहनेछ ।

कार्यक्रममा रोटरी क्लब अफ भादगाउँले उपहार स्वरुप स्वयम्भू चैत्य प्रदान गरेको थियो । स्वयम्भूको हस्तान्तरण गर्दै क्लबकी अध्यक्ष उमा कार्कीले नेपाल चीन सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरिन् । बुद्धले देखाएको बाटो अनुरुप दया, क्षमा, विश्वास र बुझाइ पनि आगामी दिनमा बढ्दै जाने उनको विश्वास थियो ।

यस सांस्कृतिक सप्ताहमा प्रमुख पाँच खण्डहरू रहने जनाइएको छ । उद्घाटन समारोहपछि विशेष प्रदर्शनी, सांस्कृतिक अन्तर्क्रियाहरू, प्रदर्शनीलगायत १० भन्दा बढी सांस्कृतिक गतिविधि रहेको आयोजकले जानकारी दिएको छ ।